बुहारी,आमा र श्रीमती चाहिने तर छोरी नचाहिने प्रवृत्तिको अन्त्य हुनुपर्छ: मंगलसेन नगरप्रमुख बोहरा
जिल्ला स्तरिय निबन्ध प्रतियोगिताका विजेतालाई पुरुस्कार वितरण गरियो

मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले बुहारी,आमा र श्रीमती चाहिने तर छोरी नचाहिने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनु भएको छ ।

मंगल मिडिया नेटवर्कले आयोजना गरेको पुरुस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले पछिल्लो समय भ्रूण जाँच गर्ने प्रवृत्ति बढ्दै गएको तर्फ सङ्केत यस प्रवृत्तिका विरुद्ध सबै लाग्नुपर्ने बताउनु भएको हो ।
हरेक परिवारलाई बुहारी चाहिने, आमा चाहिने,श्रीमती चाहिने तर छोरी भने नचाहिने अर्थात् छोरी भन्ने बित्तिकै नाक खुम्चाउने परिपाटीका कारण महिला माथि हिंसा मात्र नभई यसले निकट भविष्यमै ठुलो समस्या निम्तिने समेत उहाँको भनाई छ ।
मङ्गल मिडिया प्रा.ली अछामद्वारा आयोजित घरेलु हिंसाले बालबालिकामा परेको असर बिषयमा जिल्ला स्तरिय माद्यामिक विद्यालय निबन्ध प्रतियोगीताको पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथि रहनु भएका नगर प्रमुख बोहराले प्रकृतिको नियमलाई तोड्दै भ्रूण जाँच गरि गर्भधारण गर्ने गराउने नभए भ्रूण हत्या गर्ने प्रवृत्ति बढ्दै गएको सङ्केत गर्दै यसका विरुद्ध शिक्षक,विद्यार्थी सरोकारवाला सबै जागरूक बन्नुपर्ने बताउनुभयो ।
बिभिन्न देशमा महिलाको सङ्ख्या कम भएकै कारण पुरुषहरू अविवाहित हुनुपर्ने र शताव्दिऔँ अघि चलेको बहु पति प्रथा फेरी फर्किने हो कि भन्ने डर समेत पैदा भइसकेको उहाँले उल्लेख गर्नुभयो ।

सामाजिक विकृतिका रुपमा रहेका बिभिन्न हिंसा न्युनिकरणसंगै विद्यार्थीको अतिरिक्त क्षमता समेत वृद्धि हुने गरि मङ्गल मिडिया नेटवर्कले प्रतियोगीताको आयोजना गरेकोमा खुसी व्यक्त गर्दै नगर प्रमुख बोहराले यस्ता अन्य सामाजिक क्रियाकलापमा समेत सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा निबन्ध प्रतियोगितामा बिभिन्न स्थान हाँसील गर्ने प्रतियोगीलाई नगद,प्रमाण पत्र सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।
मङ्गल मिडिया नेटवर्कले आयोजना गरेको उक्त प्रतियोगितामा जिल्लाका ४५ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए । जस मध्य गगुडा मावि चौरपाटीका करन साउँद प्रथम,ऐश्वर्य मावि दर्नाका लक्ष्मी शाह द्वितीय ,पूर्णचन्द्र मावि भटाकाटियाका मङ्गल साउँद तृतीय र दशपल्लेपानी मा.बि सोकटका कल्पना साउँद सान्त्वना स्थान हाँसील गर्न सफल भएका छन् ।
प्रतियोगितामा क्रमशः प्रथम हुनेले १२ हजार ५ सय ,द्वितीय हुनेले १० हजार,तृतीय हुनेले ७ हजार ५ सय र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाण पत्र हात पारेका थिए ।
मङ्गल मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष होम साउँदको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य डम्बर बिसि, नेपाली काग्रेस मंगलसेन नगर सभापति झपट बहादुर रावल, नेकपा ऐकिकृत समाजवादीका जिल्ला सचिवालय सदस्य प्रभुनाथ खनाल, नेकपा विप्लवका जिल्ला सदस्य निरक शाहि, मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, जिल्ला युवा समिति अछामका अध्यक्ष लिलाराज केसी, नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष नर बहादुर रावल, पत्रकार महासंघ अछामका सल्लाहकार सदस्य शिवराज ढुंगाना, अछाम बहुमुखि क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, शोडषा माध्यामिक विद्यालयका प्राचार्य मदन बहादुर कुवर,गैरसरकारी संस्थाको तर्फबाट मालिका बिकास संघ नेपालका गोपिसिंह नेपाली, पुरुस्कनर विजेता विद्यालयमा तर्फबाट पुर्णचन्द्र मावि भटकाटियाका प्रधानाध्यापक मोहन साउदले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यसअघि निर्णायक समिति संयोजक मान बहादुर बुढाले निर्णायक समितिको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सोहि अवसरमा सम्बन्धित विजेता विद्यालयलाई सम्मानित गरिनुका साथै सहयोग र सहकार्य गर्ने निकाय तथा ब्यक्तिलाई कदर पत्र प्रदान गरिएको थियो ।
अछाम बहुमुखी क्याम्पसको सभा हलमा भएको पुरस्कार बितरण कार्यक्रममा पार्वती विष्टले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन मंगलखवर डटकमका सम्पादक कमल कुमार रावलले गर्नु भएको थियो ।



